अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरूवात

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ ।

आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो । फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाउनुभयाे । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिनुभयाे ।

१०३ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर पूरा गर्‍यो । सन्दीप जोराले ३४ तथा रोहित पौडेलले नटआउट ३३ रन बनाउनुभयाे । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १/१ विकेट लिनुभयाे ।

अफगानिस्तानले यसअघि जापानलाई ४८ रनले हराएको थियो । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् । शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् र त्यहाँ भारत वा श्रीलंकामध्ये एकसँग खेल्नेछन् ।

नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि भेट भएको हो। सन् २०१४ को इनचोन एसियाली खेलकुदमा नेपाल ८ रनले पराजित भएको थियो । पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो भने नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *