एनपीएलमा आज दुई खेल: चितवनसँग सुदूरपश्चिमको भिडन्त, कर्णाली तेस्रो जितको खोजीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली मैदान उत्रिँदैछन् ।

दिनको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो साढे १२ बजे सुरु हुने खेलमा काठमाडौं पहिलो जितको खोजीमा रहँदा कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

प्रतियोगितामा कमजोर सुरूवात गरेको काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । त्यसैले आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने दबाब काठमाडौंमाथि छ ।

यता, उत्कृष्ट लयमा देखिएको कर्णालीले सुरुवाती दुवै खेल जितिसकेको छ । जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको कर्णाली आज पनि जितको लय कायम राख्दै अंकतालिकाको शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । साँझ ५ बजे सुरू हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

तीन खेल खेलेको सुदूरपश्चिमले एकमा जित र दुईमा हार बेहोरेको छ। अंकतालिकामा आफ्नो अवस्था सुधार्न सुदूरपश्चिमलाई आज जित आवश्यक छ ।

अर्कोतर्फ, चितवन राइनोजले भने प्रतियोगितामा अहिलेसम्म अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।
यसर्थ, आजको दोस्रो खेलमा चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने र सुदूरपश्चिम जितको लयमा फर्किने प्रयासमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *