आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुपरिवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।

आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसायी तथा सरोकार भएकाहरूलाई आग्रह गर्नुभएकाे छ । उहाँले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गर्नुभएकाे छ ।

सो गणनामा १८ वटा आर्थिक क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्य राखिएको छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरूमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालयहरू आगामी असार मसान्तसम्म सञ्चालन हुनेछन् ।

तथ्याङ्क कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरूरी रहेको कार्यालयले स्पष्ट पारेको छ ।

यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *