काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मोरङ र कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११ तीनमुढेका ६० वर्षीय अलकछन माझी चौधरीलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे उजुरी परेपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट गएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ का ४५ वर्षीय नवीन चौधरी पनि पक्राउ परेका छन् । ‘झेलु’ नामले चिनिने चौधरीमाथि १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।
उजुरीपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
