‘आकाशमा बादल, सडकमा धुवाँ’ भन्दै सरकारमाथि आशिका तामाङको कडा प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सडकमा गुडिरहेका पुराना सवारी साधनबाट फैलिएको प्रदूषणप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले सवारी साधनको आयु र त्यसबाट हुने प्रदूषण नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।

तामाङले आकाशमा सफा सेतो बादल देखिए पनि सडकमा भने गाडीको कालो धुवाँले सर्वसाधारणलाई निसास्सिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘माथि आकाशमा सेतो बादल दौडिइरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएर कतिबेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न बाध्य छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले सडकमा गुड्ने सवारी साधनको अवस्था र आयुबारे सरकारले नियमित रूपमा लेखाजोखा नगरेको आरोपसमेत लगाउनुभयो ।

पुराना तथा अत्यधिक प्रदूषण फैलाउने सवारी साधनको व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *