नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बुधबार १५.६४ अंकले घटेर २७ सय २६.३३ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने मंगलबारको तुलनामा केही सुधार देखिएको छ ।

बुधबार ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ३ सय २६ कम्पनीका ६८ हजार ५९४ कारोबारबाट ४ अर्ब ७२ करोड रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

मंगलबार भने ३ सय २३ कम्पनीका ८९ हजार ७७५ कारोबारबाट ४ अर्ब ३८ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता सेयर कारोबार भएको थियो ।

बुधबारको कारोबारमा हिमस्टार इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले र युनियन हाइड्रोपावरको ७.०३ प्रतिशतले बढेको छ । बाँकी बढ्ने कम्पनीहरूको मूल्य अधिकतम ३.२७ प्रतिशतसम्ममात्रै उकालो लागेको छ ।

त्यसैगरी, लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ भने अन्य कम्पनीहरूको मूल्य अधिकतम ३.८९ प्रतिशतसम्मले ओरालो लागेको छ ।

कारोबार रकमको हिसाबले युनियन हाइड्रोपावर ३३ करोड रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ । त्यसपछि लिबर्टी इनर्जी २७ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी २६ करोड रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स २४ करोड रुपैयाँको कारोबारसहित अग्रस्थानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *