काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
दुई दिनको सार्वजनिक बिदापछि बिहीबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको सुधार देखिएको हाे । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो ।
गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो ।
बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो ।
वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७२ प्रतिशत, बैंकिङ उपसूचक ०.५९ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन ।
बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ ।
