अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोको सन्यास, २३ वर्षे यात्रा टुंगियो

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पोर्चुगलको राष्ट्रिय टोलीमा २३ वर्ष बिताएका ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय करियरलाई पूर्णविराम लगाउने निर्णय सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगलको जर्सीमा अब मैदानमा नदेखिने बताएका छन् । उनले आफ्नो पहिचान बनेको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन् ।

‘आज हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ । यो जर्सी कहिल्यै मेरो मात्र थिएन । तर २३ वर्षसम्म यसलाई लगाउने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ रोनाल्डोले भावुक हुँदै भनेका छन् ।

पोर्चुगलका लागि २४३ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

उनकै कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसैगरी, पोर्चुगलले रोनाल्डोको नेतृत्वमा दुईपटक यूईएफए नेसन्स लिगको उपाधिसमेत उचालेको थियो ।

सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा लामो समय पोर्चुगलको आक्रमणको नेतृत्व गरे । यस अवधिमा उनले व्यक्तिगत तथा सामूहिक रूपमा अनेकौँ उपलब्धि हासिल गर्दै विश्व फुटबलमा ऐतिहासिक छाप छोडेका छन् ।

सन्यासको घोषणा गर्दै उनले आफ्नो फुटबल यात्रामा साथ दिने सहकर्मी, प्रशिक्षक, परिवार र विश्वभरका समर्थकप्रति आभार व्यक्त गरेका छन् । रोनाल्डोको बिदाइसँगै पोर्चुगल फुटबलको एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *