बाँके । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताउनुभयो । उहाँका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए ।
७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ”, उहाँले भन्नुभयो, “डीएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।”
आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको हाँले बताउनुभयो । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उहाँका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उहाँले सुनाउनुभयो ।
रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए ।
बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उहाँकी श्रीमती कर्णसरी रोकाय शोकमा हुनुहुन्छ । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ ।
“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ”, अनलालले भन्नुभयो, “दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।”
शव पहिचानका लागि डीएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उहाँले बताउनुभयो । उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो ।
डीएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उहाँको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उहाँले बताउनुभयो ।
