काठमाडौँमा इजरायली एकल नाटक ‘विदाउट एन इभिल आई’ मञ्चन

काठमाडौँ । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा बिहीबार काठमाडौँमा इजरायलको ‘नेफेश थिएटर’ द्वारा निर्मित एकल नाटक ‘विदाउट एन इभिल आई’ (Without an Evil Eye) मञ्चन गरिएको छ।
नाट्य प्रस्तुतिमा प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति । तस्वीरः इजरायली दूतावास
करिब एक घण्टा लामो उक्त नाट्य प्रस्तुतिमा प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। नाटकीय कथावाचन र ‘स्ट्यान्ड-अप कमेडी’ (हास्यव्यङ्ग्य) को मिश्रण रहेको यस नाटकमा इजरायली अभिनेता तथा लेखक आसाफ बेन सिमोनको वास्तविक जीवनकथा प्रस्तुत गरिएको छ। क्रमिक रूपमा आँखाको ज्योति गुमाउँदै जाँदा पनि जीवनप्रतिको मूल्य र सकारात्मक दृष्टिकोणलाई कसरी अझै गहिरो र अर्थपूर्ण रूपमा बोध गर्न सकिन्छ भन्ने सन्देश नाटकले दिएको छ।
इजरायलको ‘नेफेश थिएटर’ का पदाधिकारी, इजरायली राजदुतको साथमा इम्पेरियल वर्ल्ड स्कुलका अध्यक्ष । तस्वीरः इजरायली दूतावास
यो नाटक तीन जना इजरायली रङ्गकर्मीहरूको विशेष सहकार्यमा प्रस्तुत गरिएको हो। जसमा ‘नेफेश थिएटर’ का कला निर्देशक हावर्ड रिप (Howard Rypp) निर्माता तथा अनुवादकका रूपमा रहेका छन्। उनले अङ्ग्रेजी, हिब्रु र यिद्दिस भाषामा १०० भन्दा बढी नाटकहरूको निर्देशन गरिसकेका छन्। त्यस्तै, नाटकको लेखन तथा एकल अभिनय आसाफ बेन सिमोन स्वयंले गरेका हुन् भने प्राविधिक निर्देशकको भूमिका नोआम टोपलियन (Noam Toplian) ले निर्वाह गरेका छन्।

रङ्गमञ्चले भौगोलिक सीमालाई नाघेर मानिसहरूलाई आपसमा जोड्छः राजदूत बास

यसअघि सो नाटक नोभेम्बर ४ (कात्तिक १८) मा इम्पेरियल वर्ल्ड स्कुलले ‘लालाबाला’ सँगको सहकार्यमा आयोजना गरेको ‘थिएटर फेस्टिभल २०२६–सिजन ६’ अन्तर्गत पनि मञ्चन गरिएको थियो।
इजरायली अभिनेता तथा लेखक आसाफ बेन सिमोनलाई मायाको चिनो प्रदान गर्दै इजरायलका राजदूत श्मुलिक एरी बास । तस्वीरः नयाँ सञ्चार संवाददाता
नेपालमा इजरायली नाटक मञ्चन भएकोमा खुसी व्यक्त गर्दै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले भन्नुभयो, “रङ्गमञ्चले भौगोलिक सीमालाई नाघेर कथावाचनको माध्यमबाट मानिसहरूलाई आपसमा जोड्ने काम गर्छ। मानवीय भावनाको अदम्य साहस तथा मानिसलाई छुन, प्रेरित गर्न र एकार्कामा जोड्न सक्ने कलाको विश्वव्यापी शक्तिलाई उजागर गर्ने यो प्रेरणादायी इजरायली प्रस्तुति बाँड्न पाउँदा इजरायली दूतावास निकै हर्षित छ।”
यस नाट्य प्रस्तुतिले कला र सांस्कृतिक आदानप्रदानका माध्यमबाट इजरायल र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा द्विपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्ने दूतावासको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *