डेभिड वार्नर काठमाडौं आइपुगे, आजै कर्णालीविरूद्ध खेल्ने सम्भावना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं गोर्खाजका अस्ट्रेलियन स्टार खेलाडी डेभिड वार्नर काठमाडौं आइपुगेका छन् ।
वार्नर आइतबार राति काठमाडौं आइपुगेका हुन् ।

उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप बलियो हुने अपेक्षा गरिएको छ ।
काठमाडौं गोर्खाजले आज सोमबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

उक्त खेलमा वार्नर मैदान उत्रिने सम्भावना रहेको छ । यद्यपि, उनको खेल्ने विषयमा टोलीबाट आधिकारिक पुष्टि हुन बाँकी छ ।
प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको काठमाडौंका लागि वार्नरको आगमन महत्त्वपूर्ण मानिएको छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौं आज कर्णालीलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *