एसियाली क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान आमनेसामने हुने भएका छन् । दोस्रो सेमिफाइनलमा श्रीलंकालाई १२४ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो ।

१७० रनको लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङसामु टिक्न सकेन । जसप्रित बुमराहले पहिलो ओभरमै दुई विकेट लिएपछि श्रीलंकाको विकेट पतन सुरू भएको थियो । लगातार विकेट गुमाएको श्रीलंकाले ९.५ ओभरमै ४५ रनमा सबै विकेट गुमायो ।
श्रीलंकाका नुआनिन्दु फर्नान्डोले सर्वाधिक १५ रन बनाए । टोलीका पाँच ब्याटर शून्य रनमै आउट भए ।

भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले समान २ विकेट लिए । अभिषेकले खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका थिए ।

त्यसअघि निशिन करोगी स्पोर्ट्स पार्कमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।
भारतका इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाए । ओपनर वैभव सूर्यवंशीले २१ बलमा ६ चौका र २ छक्कासहित ३८ रन जोडे ।

भारतका अन्य ब्याटर भने ठूलो स्कोर बनाउन असफल भए । अभिषेक शर्मा ७, सञ्जु सामसन ७ तथा कप्तान श्रेयस अय्यर १३ रनमा आउट भए। श्रीलंकाका थारिन्दु रत्नायके र साहान आराचिगेले २ विकेट लिए ।
यसअघि पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *