काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो सङ्ख्या दैनिक औसत १३७ हो ।
महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरूद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
