सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सकेसम्म धेरै नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयाे । उहाँका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको छ ।

रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरूलाई त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो ।

‘शुक्रबार ६८ जनाले सेवा लिनुभएको छ । सम्भव भएसम्म यहीँ उपचार गरेका छौँ । थप उपचार आवश्यक भए सरकारी अस्पतालमा सिफारिस गर्दै आएका छौँ,’ सचिव देवकोटाले भन्रुभयाे । उहाँका अनुसार कीर्तिपुरमा सञ्चालित अर्को शिविरमा आँखा र दाँतसम्बन्धी सेवा लिनेको सङ्ख्या उल्लेख्य छ ।

दशरथ रङ्गशालास्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।

यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्स गरी चार जना तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्स खटिएका छन् ।

पाटन मानसिक अस्पतालका डा. वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउनेलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुभयाे ।

कान्ति बाल अस्पतालका डा. जगरनाथ साहले बालबालिकासम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि आफूहरूसँगै नर्स टोली परिचालित रहेको जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *