काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुने बताउनुभएको छ ।
पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीको शुभ अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै प्रधानमन्त्री शाहले बुद्धको जन्मभूमि नेपाल सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “बुद्धले भन्नुभयो — दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ ।
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो ।” प्रधानमन्त्री शाहले अँध्यारो र उज्यालोको उपमा दिँदै थप्नुभयो, “उज्यालोको अभाव नै अँध्यारो हो-जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।”
शान्तिका सर्वकालीन महान् प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री शाहले सम्पूर्ण विश्वमा शान्ति कायम रहोस् भनी हार्दिक कामना व्यक्त गर्नुभएको छ ।
रासस
