हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् ।
वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा लामिछाने सहभागी हुनुभएकाे हाे । उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएकाे हाे ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ ।
कूल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार दुई सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् ।
विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार आठ सय ४३ मत खसेको छ भने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिनुभयाे ।
