कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।
तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयाे ।
सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उहाँले बताउनुभयाे ।
‘मङ्सिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ,’ उहाँले भन्रुभयाे, ‘स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।’
तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ ।
बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयाे ।
‘निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ,’ उहाँले भन्रुभयाे, ‘वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरू प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।’
