काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गण्डकी प्रदेशमा पहिलो मत खसालेसँगै मतदान प्रक्रिया अघि बढेको हो ।
मतदानका लागि बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू लाइनमा बसेका छन् । अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधिहरू आज मतदानमा सहभागी भइरहेका छन् ।
महाधिवेशनमा सहभागी कतिपय प्रतिनिधि मतदानपछि दशैँ मनाउन घर फर्कने तयारीमा छन् । टाढाबाट आएका प्रतिनिधिहरू मतदान सकेर घर पुग्ने योजनामा रहेकाले बिहानैदेखि मतदानस्थलमा चहलपहल बढेको छ ।
खराब मौसम र प्राविधिक समस्याका कारण मतदान प्रक्रिया प्रभावित भएपछि हिजोका लागि निर्धारित मतदान आज बिहानका लागि सारिएको थियो । रातिको समयमा मतदान गर्दा मतदातालाई असहज हुने र स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले मतदानको समय परिवर्तन गरिएको जनाइएको छ ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढेको छ ।
