सन्तोष रूचाल, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्कने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी बालिकाको उपचारको क्रममा मृत्यू भएको हो ।
सहिदभूमि गाउँपालिका–३ स्थित च्याब्रुङ भीरबाट लड्दा स्थानीय रेगन राईको ५ वर्षीया छोरी अनुष्का राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
भीरबाट ३ सय मीटर तल खसेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाईते बालिकाको जिल्ला अस्पताल धनकुटामा उपचार गर्ने क्रममा गएराति मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश ढकालले बताउनुभयो ।
अनुष्का सहिदभूमि गाउँपालिका–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थिईन् । शनिवार दिउँसो स्कुलबाट घर फर्किने क्रममा बाटोबाट चिप्लिएर उनी भीरबाट खसेकी थिईन् । सहिदभूमि गाउँपालिकामा शनिवार स्कुल लाग्ने गर्दछ । सो गाउँपालिकामा बुधवार साप्ताहिक विदा दिने गरिएको छ । मृत्तक बालिकाको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।
