आज सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।

आज परिसूचक चार दशमलव ९८ अंकले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।

आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएको छ । यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोडको सेयर कारोबार भएको थियो ।

आजको यो रकम गत साढे दुई महिना यताकै उच्च हो । आज ३२६ वटा धितोपत्रको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच भएको हो ।

आइतबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ । यस्तै, छ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, समृद्धी फाइनान्स र गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य क्रमशः ८७४ रूपैयाँ ८० पैसा र दुई हजार ७५२ रूपैयाँ २० पैसामा झरेको छ ।

आइतबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ५७१ रूपैयाँमा ४५ करोड १७ लाखको सेयर कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.३५ प्रतिशत बढेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ८७४ रूपैयाँ ८० पैसामा ४१ करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक बढेको छ भने बाँकी चार वटाको घटेको छ ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *