काठमाडौं । रसुवाको टिमुरेमा गत भदौ १० गते गएको भोटेकोशी बाढीमा ३३८ ट्रक तथा कन्टेनर बगेको र ती सवारीसाधनसँगै ४४१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई असोज ५ गते बुझाएको प्रारम्भिक विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ ट्रक तथा कन्टेनर र २५१ जना, नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाका ५८ सवारीसाधन र ७८ जना सम्पर्कविहीन छन् ।
त्यस्तै, तराई यातायात व्यवसायी सङ्घ, सिमराका २१ सवारीसाधन र ३५ जना, ट्रक यातायात व्यवसायी सङ्घ नेपाल, बल्खुका १० कन्टेनर र २० जना, गण्डकी ट्रक व्यवसायी सङ्घ, पोखराका २१ ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका ११ कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यातायात व्यवस्था विभागले असोज २ गते सूचना जारी गर्दै सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको थियो । सोहीअनुसार महासङ्घले आफ्ना सदस्य सङ्घ, समिति तथा कम्पनीबाट विवरण सङ्कलन गरी विभागमा पठाएको हो ।
महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले विवरण प्रारम्भिक रहेकाले थप तथ्याङ्क प्राप्त भएमा समेटिने बताउनुभयाे । नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुनबहादुर सापकोटाले थप विवरण सङ्कलन भइरहेकाले बगेका सवारीसाधन र सम्पर्कविहीन व्यक्तिको सङ्ख्या बढ्न सक्ने जानकारी दिनुभयाे ।
बाढीबाट प्रभावित व्यवसायी तथा परिवारलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि सरकारले पहल गर्नुपर्ने महासङ्घले जनाएको छ ।
यसैबीच, यातायात व्यवस्था विभागले पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते बसेको यातायात व्यवसायी तथा सरोकारवालासहितको बैठकको निर्णयअनुसार सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार र अन्य विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ । विभागले तथ्याङ्क पठाउने संस्थालाई आफ्नो पहिचान र सम्भव भएसम्म स्रोत खुलाउन आग्रह गरेको थियो ।
