काठमाडौं । पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उहाँले जानकारी दिनुभयो ।
आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि, वडा नं ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्रीवितरण स्थलका रूपमा तोकिएको हो ।
यसैगरी, पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं वडाको पोखरा रङ्गशाला, वडा नं १३ को किसान बजार, वडा नं १४ को कार्यालय परिसर, वडा नं १५ को किसान बजार, वडा नं १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि र वडा नंं २७ तालचोकको कृषिउपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।
