बाँके । बाँकेको नेपालगन्जमा व्यावसायिक फूल खेती गरेर तीन जना युवाले तिहार खर्चको जोहो गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूल खेती गरेर तिहार खर्च जुटाएका हुन् ।
नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल टिपेर बिक्री गर्न यतिबेला उनीहरूलाई भ्याइनभ्याइ छ । फार्ममा फुलेका फूल बिक्री गरेर अहिलेसम्म करिब दुई लाख रूपैयाँ आम्दानी भएको वेदराज आचार्यले जानकारी दिनुभयाे ।
‘हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौं, अझै पाँच क्विन्टल जति बाँकी होला,’ वेदराजले भन्रुभयाे, ‘चार सय रूपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौं । अहिलेसम्म दुई लाख रूपैयाँजतिको बिक्री भइसक्यो ।’
यसपालिको तिहार खर्च फूलखेतीबाटै जुटेको अर्का सञ्चालक असिम सिग्देल पनि मख्ख छन् । थोरै मेहनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास उनीहरूलाई लागेको छ ।
तिहारअघि नै करिब दुई लाख रूपैयाँ बराबरको फूल बिक्री भइसकेको छ । स्थानीयले फूलका लागि अग्रिम बुकिङ पनि गरेका छन् । बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएको उनीहरूले बताएका छन् ।
बाँकेमा यो वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ ।
जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताउनुभयाे ।
उहाँका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । भारतीय फूल आयातमा रोक लगाउन सके फूलखेती गर्ने किसानले राम्रो आम्दानी गर्न सकिन्छ ।
तिहार नजिकिएसँगै किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोकलगायत क्षेत्रमा फुटकर रूपमा फूल बिक्री वितरण गरिरहेका छन् ।
स्थानीय बजारमा फूलको माग बढेसँगै किसानलाई बिक्री गर्न भ्याइनभ्याइ भएको उहाँको भनाइ छ ।
