काठमाडौं । जल तथा मौसम विज्ञान विभागले १५ जिल्लामा रेड अलर्ट जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । रेड अलर्ट जारी गरिएका जिल्लामा दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा रहेका छन् ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा तथा कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।
