काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ ।
कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौं फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयाे । उहाँले काठमाडौं–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
“हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ”, उपाध्यक्ष श्रेष्ठले भन्रुभयाे ।
