आइतबार सेयर बजारमा हरियाली: अधिकांश कम्पनीको मूल्यमा वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर बन्द भएको छ, जुन पछिल्लो पाँच महिनाकै उच्च स्तर हो ।
बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । आज ३३१ कम्पनीका ३ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कुल कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । आज पाँच कम्पनीमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, मैलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनी परेका छन् । उता, एभरेष्ट बैंकको डिवेञ्चर सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ ।
समूहगत रूपमा हेर्दा सबै सूचक हरियो देखिएका छन् । सबै समूह एक प्रतिशतभन्दा बढीले बढेका छन् भने होटल समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकमतर्फ अरुण काबेली पावर अग्रस्थानमा रह्यो । यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसपछि ग्रीन भेन्चरको ३९ करोड ७७ लाख र शिवम सिमेन्टको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *