हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन् ।

माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना जारी गरिएकाले पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयाे । माथिल्लो भूभागमा बाक्लो हिउँ परेपछि यहाँको भ्रमणमा आएका पर्यटक मनाङमा नै रहेका प्रमुख भुजेलले बताउनुभयाे ।

उहाँले भन्रुभयाे, “करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन् । हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्न सक्ने अवस्था रहेको छैन ।” जोखिम मोलेर केही पर्यटक भने यात्रामा निस्कन खोजिरहेका उहाँले बताउनुभयाे ।

मनाङ आएका पर्यटकलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयाे । “मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन,” प्रमुख जिल्ला अधिकारी खनालले भन्रुभयाे, “हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै नै छ ।”

यहाँ बिहीबार (कात्तिक १२) साँझदेखि हल्का हिमपात भएको । शुक्रबार र शनिबार (कात्तिक १३–१४) बिहानसम्म भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *