खुल्ला सिमानाका कारण लागु औषध ओसार पसारलाई रोक्न चुनौति

सन्तोष रूचाल, धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले दक्षिणी क्षेत्रमा खुल्ला सिमानाका कारण लागु औषध ओसारपसारलाई रोक्न चुनौति रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षणको क्रममा आज धनकुटाका आउनु भएका डिआइजी कार्कीले सरोकारवालाहरूको अन्तरक्रियामा भारतमा लागु औषध विक्रीवितरण खुल्ला भएका कारण पनि सिमा क्षेत्रहरूमा बढी मात्रामा लागु औषध कारोबार तथा ओसार पसार हुने गरेको बताउनुभयो ।

खुल्ला सिमानाका कारण व्यक्तिले आफ्नो शरिरमा नै बोकेर लागु औषध बोकेर आउने गरेकाले पनि नियन्त्रणमा केही समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘विभिन्न खालका लागु पदार्थ बाहिरबाट नै भित्रिने भएकोले यसको पूर्ण रोकथामको लागि प्रहरीको सवै संयन्त्र परिचालन गरिएको छ । तर पनि पुर्ण रूपमा रोक्न सकिएको छैन ।’

लागु औषध कारोबार तथा ओसार पसारको कार्यलाई रोक्न चेनब्रेक गर्न आवश्यक रहेको उल्लेख गर्दै डिआइजी कार्कीले यसको लागि लागु औषध ओसार पसारमा संम्लग्नहरूलाई दैनिक जसो पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

धनकुटामा लागु औषध सेवनकर्ताहरूको संख्या पछिल्लो समयमा वृद्धि भएको सरोकारवालाहरूले ध्यानाकर्षण गराएपछि कोशी प्रदेशका सिमावर्ती ४ जिल्लालाई लागु औषधको संम्वेदनशील जिल्लाको रूपमा लक्षित गरी लागु औषध ओसार पसार नियन्त्रण अभियान प्रहरी चलाउँदै आएको भएपनि अब धनकुटालाई पनि सहभागी गराई ५ जिल्लामा नियन्त्रण अभियानलाई तिब्रता दिईने डिआइजी कार्कीले बताउनुभयो ।

एक अर्को प्रसंग बोल्दै डिआइजी कार्कीले धनकुटाको छिन्ताङ लगायतका क्षेत्रमा उत्पादन हुदै आएको गाँजा नियन्त्रणको लागि स्थानीय सरकारहरूले उनीहरूलाई विकल्प दिएर गाँजा उत्पादनलाई रोक्नु पर्ने सुझाव दिनुभयो । आफुले उत्पादन गरेको गाँजा विक्रीवितरण गर्न नपाएर गाँजा उत्पादनकर्ताहरू (किसान) छटपटीमा रहेको भन्ने सुचना आफुलाई प्राप्त भएको बताउँदै डिआइजी कार्कीले स्थानीय सरकारहरूले गाँजा उत्पादन हुने क्षेत्रमा विकल्पको रूपमा अन्य आयआर्जनका बाली लगाउन लगाएर पनि यसको उत्पादनलाई रोक्न सकिने बताउनुभयो । यसको लागि पालिकाहरूले सहजीकरण गर्नु पर्ने कार्कीले औल्याउनुभयो ।

पछिल्लो समय पहाडी जिल्ला धनकुटामा सार्वजनिक यातायातहरूमा टाइमकार्ड लागु गरेर सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुगेको बताउँदै टाईमकार्डको क्षेत्र बढाउँदै लैजाने योजना रहेको डिआइजी कार्कीले बताउनुभयो ।

मातहत प्रहरी कार्यालय अन्तरगत एसपी शरदकुमार थापा क्षेत्रीको नेतृत्वमा रहेको धनकुटा प्रहरीले उत्कृष्ट कार्य गरेको बताउँदै त्यसमा पनि वर्षात्को समयमा हुन सक्ने वाढीपहिरोका कारण हुन सक्ने धनजनको क्षतिलाई रोक्न गरी रहेको कार्य अब्बल रहेको भन्दै डिआइजी कार्कीले प्रशंसा गर्नुभयो । सो अवसरमा जिल्लाको शान्तिसुरक्षाको अवस्था र प्रहरीको भूमिकाको बारेमा सरोकारवालाहरूले विभिन्न सुझावहरू राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *