दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुहुन्छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएको उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ ।
मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ ।
कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । ‘बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ,’ उहाँले भन्नुभयो ।
स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उहाँले सुनाउनुभयो ।
गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौं पुग्नुपरेको उहाँको भनाइ छ ।
‘उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु,’ मल्लले भन्नुभयो, ‘गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौं ।’
एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ ।
उहाँले ५०० भन्दा बढी बोट कागती लगाउनुभएको छ । हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ ।
