कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयाे ।

उहाँले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताउनुभयाे । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उहाँले उल्लेख गर्नुभयाे । उहाँका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रमुख डा.सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिनुभयाे । ‘सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ’, उहाँले भन्रुभयाे- ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरूरी छ ।’ उहाँले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयाे ।

हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले रु १० लाख क्षतिपूर्तिस्वरूप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि रु २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयका प्रमुख डा.सापकोटाले जानकारी दिनुभयाे । उहाँले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताउनुभयाे ।

‘डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो’, डा.सापकोटाले भन्रुभयाे- ‘कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा सङ्घीय सरकारसँग यसको दिगोपना एवं कानुनी प्रावधानका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *