गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताउनुभएको छ ।
कांग्रेस कास्कीले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताउनुभयो ।
‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो,’ उहाँले भन्नुभयो ।
कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै उहाँले उनीहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरूरी रहेको बताउनुभयो ।
‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ,’ उहाँले भन्नुभयो ।
आसन्न पार्टीको १५ औं महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास उहाँको छ ।
नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै उनले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुभयो ।
पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उहाँले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
