काठमाडौं । बुधबार रूसको कमचटका प्रायद्वीप नजिकै आएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरूले जनाएका छन् । साथै, आगामी दिनमा ‘शक्तिशाली परकम्प’ आउने चेतावनी पनि दिएका छन् ।
रूसी विज्ञान एकेडेमीअन्तर्गतको भूभौतिक सेवा विभागको कमचटका शाखाले भनेको छ, “कम्तीमा एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका उल्लेखनीय र महसुस गर्न सकिने परकम्पहरू जारी रहने अपेक्षा गरिएको छ ।”
८.८ म्याग्निच्युडको यो भूकम्पले रूसको सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी निम्त्याएको छ ।
रूसी बन्दरगाह सहरमा सुनामीको लहर
कमचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । रूसको आपतकालीन मन्त्रालयका अनुसार, सुनामीको लहरले सेभेरो–कुरिल्स्क सहरको केही भागमा बाढी ल्याएको छ । यस सहरमा करिब दुई हजार जनाको बसोबास छ ।
क्षेत्रीय आपतकालीन मन्त्री सर्गेई लेबेदेवले यो भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।
जापानमा उच्च सतर्कता, समुद्रबाट टाढा रहन आदेश
जापानका विभिन्न क्षेत्रका बासिन्दालाई समुद्री तटबाट टाढा रहन र उच्च स्थानमा जानका लागि निकासी आदेश जारी गरिएको छ । फुकुशिमा डाइची र डाइनी परमाणु ऊर्जा केन्द्रका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
टोकियो इलेक्ट्रिक पावर कम्पनी को विज्ञप्तिअनुसार, यी दुवै प्लान्टका कामदारहरूलाई निकासी गरी सुरक्षित स्थानमा राखिएको छ । स्मरणीय छ, सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण फुकुशिमा डाइची प्लान्टमा गम्भीर परमाणु दुर्घटना भएको थियो ।
