फेरि फैलिन थाल्यो लम्पी स्किनको संक्रमण

ताप्लेजुङ । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा संक्रमण देखिएको हो ।

केन्द्रका प्रमुख डा रोशन दाहालका अनुसार हालसम्म ३४ पशु बस्तुमा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ । संक्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशु बस्तुमा देखिएको छ ।

सुरूमा फुङलिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले संक्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।

संक्रमण फैलिन नदिनको लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *