सन्तोष रूचाल, धनकुटा । नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तिसहित स्रष्टाहरूलाई सम्मान गरेको छ ।
उक्त पुस्तकालयको चौथो बार्षिक उत्सव तथा साधारणसभाको अवसर पारेर सम्मान पत्र, दोसल्ला र नगदसहित स्रष्टाहरूलाई सम्मान गरेको हो ।
लक्ष्मीकान्त देव्यकन्या रूक्मिणी स्मृति पुरस्कारबाट सुनसरीका पं.रेवतीप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । पूर्वीय दर्शनको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नगद पाँच हजार एक सय एघार रुपैयाँ सहित उहाँलाई सम्मान गरिएको हो ।
त्यस्तै साहित्य सिर्जनातर्फ योगदान पुर्याएको भन्दै दाङको तुलसीपुर–६ गोलौराकी कवि बुनु लामिछाने मधुश्री विशिष्ट साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई नगद १५ हजार एक सय एघार सहित सम्मान गरिएको छ । यता लामो समयदेखि लोकगीत तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याएको भन्दै मोरङको सुन्दरहरैंचाका स्व. धरणीधर गुँरागाई परिवारलाई भाष्कर लामिछाने लोक संस्कृति पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कारको राशी पाँच हजार एक सय एघार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
त्यसैगरी समाज सेवामा योगदान पुर्याएको भन्दै धनकुटाका दोर्णप्रसाद गुँरागाईलाई कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कारको राशी १० हजार एक सय एघार रुपैयाँ नगद र सम्मान पत्रद्धारा सम्मान गरिएको आयोजकले जनाएको छ भने साहित्य सिर्जनामार्फत समाजका पुर्याएको योगदानको सम्मान गर्दै स्थायी घर धनकुटा भई हाल झापाको बिर्तामोड बस्दै आउनुभएकी कवि मनु विश्वकर्मालाई नगद पाँच हजार एक सय एघार रुपैयाँ सहित दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
यता धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा रहेको विश्रान्तिधाम संस्कृति गुरूकुलले संस्कृत भाषा तथा बाङ्मयको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै सो संस्थालाई पाँच हजार एक सय एघार रुपैयाँ नगद सहित सम्मान गरिएको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बरालले बताउनुभयो । पुरस्कृत व्यक्तित्व तथा संस्थालाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका संस्थापक तथा संरक्षक टीकाप्रसाद लामिछाने लगायतले सम्मान गर्नुभएको थियो ।
