सन्तोष रूचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारबाट चौविसे गाउँपालिकातर्फ लैजादै गरेको अबैध सल्लाको चिरानी काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौबिसे गाउँपालिका–६ कोर्नाका २६ वर्षीय ट्याक्टर चालक सुमन राईले ट्याक्टरमा लोड गरी चौबिसेतर्फ लैजादै गरेको अवस्थामा गएराति डाँडाबजार प्रहरीले नियन्त्रणमा लिएको थियो । साँगुरीगढी गाउँपालिका–३ इनामेबाट चौबिसे गाउँपालिका–६ कोर्नातर्फ जादै गरेको प्र २–०३–००१ त ३९५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई २ सय ४४ थान सल्लाको चिरानी काठ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर ध्रुवनारायण श्रेष्ठले बताउनुभयो ।
कागजपत्र विना ट्याक्टरमा लोड गरी लैजादै गरेको २ सय ४४ थान काठ मध्ये ८ फिटको कोरो ७५ थान, ८ फिटको बत्ती ३३ थान, ७ फिटको बत्ती ११ थान, ११ फिटको बत्ती ३७ थान, ७ फिटको फलेक ७० थान, ८ फुटको फलेक ११ थान र अर्को साइजको ७ फुटको बत्ती ७ थान बरामद गरिएको इन्सपेक्टर श्रेष्ठले बताउनुभो ।
डाँडाबजारबाट नियन्त्रणमा लिएको काठ, ट्याक्टर र चालक सहित अहिले धनकुटा ल्याउने क्रममा रहेको र आजै डिभिजन वन कार्यालय धनकुटालाई आवश्यक कारवाहीको लागि जिम्मा लगाईने प्रहरीले बताएको छ ।
