१८ औँ गभर्नरमा नियुक्त विश्व पौडेल को हुन् ?

काठमाडौं । महाप्रसाद अधिकारीको कार्यकाल सकिएको ४४ दिनपछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएकाे हाे । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको लामो रस्साकसीपछि राष्ट्र बैंकले १८औँ गभर्नर पाएको हो ।

गत चैत ११ गते नै सिफारिस समिति गठन भएको थियो । तर, दुई सदस्यको राजीनामा पछि मंगलबार नै पहिलोपटक बैठक बसिएको थियो । बैठकले पौडेलसहितको नाम सिफारिस गरेको थियो । पौडल ती व्यक्ति हुनुहुन्छ, जो पहिलोपटक सिफारिस समिति गठन हुँदा सदस्य हुनुहुन्थियाे ।

नेपाली कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएका थिए । तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले समितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्री सहमत भएको भन्दै पौडेलले वैशाख २८ गते सिफारिस समितिबाट राजीनामा दिनुभएकाे थियाे ।

राजीनामापछि पनि कांग्रेस र एमालेबीच विश्वासको वातावरण नबन्दा सिफारिस समितिको बैठक बसेको थिएन । तर, सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग आक्रोशित भएपछि बल्ल सरकार तातेको थियो ।

सोमबार देउवा र ओलीबीच तय भएको बैठक समेत नबसेपछि सत्ता गठबन्धनमै प्रश्न उठेको थियो । मंगलबार भने देउवा–ओलीको भेटसँगै समझदारी अघि बढेको थियो । लगत्तै सिफारिस समितिको बैठक बसी पौडेलसहितको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो ।

नाम बुझाएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।

को हुन् विश्व पौडेल ?

२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको हो । उहाँले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गर्नुभएकाे हाे । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएका समेत काम गर्नुभएकाे थियाे ।

त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गर्नुभएकाे छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बन्नुभएकाे उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित हुनुभएकाे हाे । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाउनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *