निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

पाल्पा । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आउनुभएका रामबहादुर गहाले भन्नुभयो,“कामको व्यस्तता र पैसा नहुँदा स्वास्थ्य जाँच गर्न अस्पताल जान नसकेका बेला निर्माणकर्मी सङ्घले शिविरमार्फत स्वास्थ्य जाँच गर्ने अवसर दिएकामा खुसी लागेको छ ।” आफ्नो स्वास्थ्यप्रति हामी आफैँले लापरबाही गर्दै आएका रहेछौं भन्ने महसुस भएको उहाँको भनाइ छ ।

उहाँले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुने समेत बताउनुभयो । उहाँ जस्तै धेरै श्रमिक स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी देखिनुहुन्थियो। दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अधिकांश श्रमिक चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन्, जब जटिल अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरू अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरू जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौँ ।” अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकमा कुनै न कुनै समस्या रहेको बताउनुभयो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *