काठमाडाैं । दुनियाँले दुरूपयोग गरेर बेचिएका हामी नेपालीहरू कसैको मीठो बोलीको भुलभुलैयामा क्षणभरमा फेरि भुलिहाल्छौं ।
कहिले कुन पार्टीले मीठो बोली बोल्छ, कहिले कुन व्यक्तिले मीठो बोली बोलेर भ्रमामा पारेको हामी बुझ्ने प्रयास गर्दैनौं । हामी नेपालीको सोझो मनलाई दूध दिने गाईलाई झैं विभिन्न मानिसहरू, पार्टी र अहिलेको सामाजिक संजालले सर्लक्कै निलेको छ ।
विकल्प के हुन्छ भनेर बातचित गरिरहेको सुनिन्छ
अहिले एउटा चिया गफ, खाजा गफ, क्याफेमा, रेष्टुरेन्टमा, कतै त घरहरूमा पनि अहिलेको पार्टीको विरूद्धमा बोलिरहेको, सरकारप्रतिको रुष्टता पोखिरहेको अनि विकल्प के हुन्छ भनेर बातचित गरिरहेको सुनिन्छ ।
नेताहरू र तिनका सन्ततिहरूले गरेको भ्रष्टाचार, देश गरीबीमा परेको, जनताले सास्ती भोगेको कुराको असन्तुष्टी मात्र सुन्न पाइन्छ, हामी यो व्यवस्थाप्रति बेखुशी भएको कुरा सुनिरहनु परेको छ । सामाजिक विभेदको कुरा यथावत रहेकोले समान अवसर नपाएको, जातीय विभेद ज्यूँकात्यूँ रहेको नवराज विकहरूले ज्यान गुमाएको, यद्यपि काठमाडौं शहरमा पनि घर भाडामा नपाएको, विद्यालयको स्तरोन्नति नभएको, संचारमाध्यमबाट गलत सन्देश सम्प्रेषण भएको कुराको विश्लेषण सुन्न पाईन्छ ।
ज्ञानेन्द्र शाहपछि को राजा हुन्छ होला भन्ने यकिन छैन
राजावादीहरू कराइरहेका छन्, ज्ञानेन्द्र शाहपछि को राजा हुन्छ होला भन्ने यकिन छैन, तर सडकमा कुन निर्वाषणमा गएको राजा फर्केर आएभैंm नारा जुलुस लगाएर सयौं बेरोजगारहरूलाई मादक पदार्थ खुवाएर, मोटरसाइकलमा तेल हालिदिएर, अझ एपबाट चलाउने बाइकहरूलाई भाडामा लिएर भए पनि जनप्रदर्शन गर्न सडक तताउने क्रम बढ्दैछ ।
यही क्रममा ज्ञानबहादुर शाहीले २०८१ चैत्र १५ गते भएको तीनकुने, भाटभटेनी लयाएतमा आफ्ना प्रदर्शनकारी समुहहरूले लुटपाट, तोडफोड, पत्रकारलाई जिउँदै आगो लगाएर ठूलो उच्छ्रिङ्खलता मच्चाएपछि कहिले माओवादीले यसो गरेको हो भने त २०८१ साल फागुन २४ मा त बल्खुमा फेरि त्यस एरियामा, जडीबुटी प्रशोधन केन्द्रमा आगो लगाउने तिनीहरूकै उपाध्यक्ष रविन्द्र मिश्र भएकोसम्म भन्न भ्याए । त्यसकारण तुक भए बोल्नु नत्र नबोल्नु, राजनीति गर्नेहरूले आफ्नो गल्ती स्वीकार गर्न नसिक्ने हो भने राजनीति नगरेको राम्रो ।
हामीले पञ्चायती व्यवस्थाको राम्रो अनुभव गरेका छौं
के २०४६ सालपछिकै कुरालाई पनि हामी नेपालीहरूले लगभग ३५-३६ वर्षमै बिर्सिसकेका हौं त ? हामीले पहिले पञ्चायती व्यवस्थाको राम्रो अनुभव गरेका छौं । पञ्चे दादाहरूले गाउँमा गरेको शोषण, चेलीबेटीमाथिको दमन, गरीब र दलितमाथिको दमन र दासत्वकरण एकपल्ट सम्झिने कि ?
प्रजातन्त्रको प्रादुर्भावपछि, सरकारी र नीजि गरी विद्यालयहरू, क्याम्पसहरू, खुले, सडकहरू बने, पुलहरू बने, तर अहिले त जागीरको लागि बल प्रयोग गर्नुपर्ने, छ, त्यसबेला के थियो होला ? कतै सोच्ने कि ? गाडीको त कुरै छोडौं, राजाको हातमा सबै थोक थियो (जमीन, अधिकार, पहुँच, ज्ञान तथा अन्य टेक्नोलोजी) । तर खोई सर्वसाधारण जनताको लागि विनियोजन भएको ? नेपाल एकिकरणको श्रेय श्री ५ पृथ्वी नारायण शाहलाई जान्छ, त्यसपछि राजपरिवारमा राजा र तिनका थुप्रै सदस्यहरूलाई विभिन्न बहानामा परिवारभित्रैबाट हत्या गरिएका धेरै घटनाहरू कहिले बाहिरिए, कहिले बाहिरिएनन्, किनभने यद्यपि पूर्व राजा ज्ञानेन्द्रको पालामासम्म मिडियाकर्मी र मिडियाहरू नगण्य मात्रामा थिए ।
रेडियो नेपाल पनि बन्द गराइयो
समाचार र घटनाहरू कसले सम्प्रेषण गरे ? यद्यपि हाम्रा अति प्रिय राजा विरेन्द्रको वंश बिनाश हुने गरी गरिएको विभत्स हत्याको समाचार सही सम्प्रेषण गर्ने डरले हुनसक्छ, समाचार सम्प्रेषण गर्न नदिएर देशमा भएको एक मात्र सरकारी रेडियो तथा रेडियो नेपाल पनि बन्द गराइयो । नेपाल टेलिभिजन चलेन, नेपाल-१ भन्ने एउटा अर्को भारतीयहरूले चलाएको मिडिया पनि बन्द गराइयो । केही एफएमहरू थिए, कुनै नचल्नेगरी बन्द गराइयो, के त्यही खोजेको हो अहिलेका राजावादीहरूले ? अब सोच्ने बेला भयो, जताततै आन्दोलन र उच्छ्रिङ्खलता किन छायो ?
अहिलेका च्याउसरी पलाएका आधिकारिक र अनधिकृत मिडियाहरू, जसले यो गणतन्त्रको खिलाफ उडाउँछन्, त्यही गणतन्त्रले दिएको अधिकार र स्वतन्त्रता हो । के पहिले राजाको विरूद्धमा यसरी बोल्न पाइन्थ्यो ? अझ, वि.सं. २०५० पछि जन्मेकाहरूले राजा राजा भनेर कराएको कति लाजमर्दो ? किनकि, भूपू राजा ज्ञानेन्द्रले जनतालाई कसरी मारे, कति निर्दोष जनताले अनाहकमा जीवन गुमाउनुपर्यो, पहिले अधिकार कुन, कस्तो र कसलाई मात्र दिइएको थियो भनी जानेकै छैनन् । अब साेच्ने कि, जताततै आन्दोलन र उच्छ्रिङ्खलता किन छायो ?
काठमाडौंबाट घर पुग्न ४-५ दिन हिँड्नुपर्थ्यो
काठमाडौंबाट घर पुग्न ४-५ दिन हिँड्नुपर्थ्यो, विद्यालय जान ४-५ घण्टा हिँड्नुपर्थ्यो, टेलिफोन गर्न ३-४ दिन पालो कुर्नुपर्थ्यो यो सब कसले भनिदिने हामी जनतालाई ? अब भन्ने कि, जताततै आन्दोलन र उच्छ्रिङ्खलता किन छायो ?
माओवादी जनविद्रोहको बेला विद्रोहमा सहभागी नहोऊन् भनेर पासपोर्ट बनाउँदै ज्ञानेन्द्र, तुलसी गिरी, कमल थापा, नेपाली कांग्रेस र नेकपा एमालेहरूले नै विदेश पठाए, जनताको चेतनाको स्तर बढाउन पाएनन्, जनताले कसरी हुन्छ छिमेकीको छोरासँग आर्थिक प्रतिस्पर्धा गर्ने भन्ने मात्रै विचार गर्ने बनाए, त्यसको एउटै उपाय भनेको अर्काको देशमा गएर काम गर्नु नै रह्यो ।
प्रचण्ड र बाबुरामको टाउकोको मोल तोके
अझै पनि त्यस समयमा व्यावसायिक शिक्षा भएन, जनताले अवसर पाएनन्, जनताको आवाज बोलिदिने कोही भएनन् । समाचार कसैको वशमा रहेन, कोही मानिसले बोल्न पाएनन्, माओवादीले जनविद्रोह गरिरहेकै बेला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, कमल थापा, तुल्सी गिरी, ज्ञानेन्द्रहरूले प्रचण्ड र बाबुरामको टाउकोको मोल तोके, र उहाँहरूको टाउको झोलामा ल्याएर आउने, यति लाख रुपैयाँ झोलामा लिएर जाने भनी उर्दीसम्म गरे ।
तर, जब हाम्रा प्रिय राजा विरेन्द्रको विभत्स हत्यापछि ज्ञानेन्द्रले राज्यसत्ता हात पारे, तिनले संसदमाथि कू गरेर नेपाली कांग्रेसका विभिन्न भूपू प्रमहरूलाई जेलमा थुन्न थाले । अब सबैले सोचे, तात्कालीन जनविद्रोहमा भएका माओवादीको साथ नपाउने हो भने सबै जेल पर्ने भइयो । यो जानेर माओवादीलाई गुहारेपछि, संयुक्त रूपमा २०६२/०६३ को १९ दिने जनआन्दोलनपछि बयलगाढा चढेर अमेरिका पुग्न नसक्ने मान्छेले पनि गणतन्त्रको सबैभन्दा बढी सुविधा चाख्ने मौका पाए । तर यसको गलत प्रयोग गरेकोले जनता उग्र हुन लागे र अहिले भ्रष्टहरूले कुलमानलाई हटाउन खोज्दैछन्, भ्रष्टहरूलाई जेल कोच्ने प्रचण्ड, नारायण काजी, र रविलाई पनि हटाएर भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् ।
जनतालाई राजा चाहिएको होइन, जनतालाई अवसर, अधिकार र अन्य सुविधा चाहिएको हो
जनतालाई राजा चाहिएको होइन, जनतालाई अवसर, अधिकार र अन्य सुविधा चाहिएको हो । हुन त सुनेको भरमा विश्लेषण गर्नेहरूको चाहिँ कुनै भर हुँदैन । त्यसैले हामीले यो समयमा नेपालमा विकास, अवसर र सुविधा खोज्नुपर्छ राजा खोज्ने होइन । अब बुझाउने कि, जताततै आन्दोलन र उच्छ्रिङ्खलता किन छायो ?
तात्कालीन राजाले हजारौं युवाहरूलाई माओवादी भएर जनविद्रोह गर्ला भनेर र माओवादीको सुराकी सेनालाई दिएपछि जनकारवाही होला भनेर हामी गाउँकाहरूलाई कि मार्ने, नत्र विदेश पठाउने काम गरे । तिनीहरूले नै विदेश पठाएर बानी बिगारिदिएका छन्, रोल्पा रुकुमतिरका ७० हजार तलब बुझ्ने शिक्षक पनि जागीर छोडे विदेशिए, यो गलत संस्कार हो, र महँगी बढेकोले हामी पनि महत्वकांक्षी भएका छौं, त्यसकारण, अब जनताको भावना बुझ्दैन भने सरकारको काम छैन ।
विभिन्न समुहका मानिसहरूको मीठो बोलीको कारण हामी भुलभुलैयामा परिहाल्छौं
नेता, अभियन्ता तथा विभिन्न समुहका मानिसहरूको मीठो बोलीको कारण हामी भुलिहाल्छौं । दुनियाँले दुरूपयोग गरेर बेचिएका हामी नेपालीहरू कसैको मीठो बोलीको भुलभुलैयामा क्षणभरमा फेरि भुलिहाल्छौं, त्यसकारण गलत नेतृत्व चुनेकोले देशमा अराजकता, अविकास र अस्थिरता छ ।
हामी नेपालीहरूले हाम्रो अस्तित्व र शान नेपाली नागरिक हुनुमा मान्नुपर्छ । नेपाल रह्यो भने मात्र नेपाली हुन सकिन्छ । तर बिडम्बना यो छ कि, भारतीय चालमा राष्ट्रवादीको नाममा तथा भारतीय चालमै हिन्दूराज्यको नाममा तथानाम अन्य समुदायलाई गालिगलौज, अपमान, विद्रोह गर्ने सयौं नेपालीहरूले आफ्नो देशको नागरिक हुन प्रयास गरौं, रैती र राजा हुन होइन । हामी नेपाली नागरिक हुन चाहन्छाैं रैती हाेइन, अब साेचाैं, जताततै आन्दोलन र उच्छ्रिङ्खलता किन छायो ?
सच्चा देशप्रेमी नेतृत्व चयन गर्ने हाम्रो कर्तव्य हो
त्यसकारण, हामी अब कसैको लहैलहैमा होइन, तर गणतन्त्र भित्रबाट पनि सही नेतृत्व खोजौं । सही व्यक्ति चुनौं, प्रचण्डहरू, नारायणकाजीहरू, कुलमानहरू, बालेनहरू, रविहरू, गोपीहरू र हर्कहरूजस्ता गणतन्त्र पनि जोगाउने र सुशासन पनि कायम गर्ने सच्चा देशप्रेमी नेतृत्व चयन गर्ने हाम्रो कर्तव्य हो । नत्र भने, जताततै आन्दोलन र उच्छ्रिङ्खलता मात्रै छाउँछ, केही उन्नति हुँदैन ।
