काठमाडौंमा होलोकस्टका पीडितहरूको स्मृतिमा अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइयो

काठमाडौं । राजधानीस्थित इजरायली राजदूतावास र जर्मनी राजदूतावासको संयुक्त आयोजनामा होलोकस्टका पीडितहरूको सम्झनामा “स्मृति कार्यक्रम र प्रदर्शनी: आउश्विट्ज-पृथ्वीमा एक ठाँउ” विषयक अन्तर्राष्ट्रिय स्मृति सभा काठमाडौंमा सम्पन्न भएको छ ।

दोस्रो विश्वयुद्धका बेला १५ लाख बालबालिकासहित ६० लाखभन्दा बढी यहुदीको बीभत्स नरसंहारको घटनापुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले सोमबार विश्वभर मनाइने होलोकस्ट स्मृति दिवस नेपालमा पनि मनाइएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकस्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो।

कार्यक्रममा ६ वटा बत्ती बालेर मारिएका ६० लाखभन्दा बढी यहुदीहरूको सम्झना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्माले होलोकस्ट केवल यहूदी समुदायको वा युरोपको मात्रै दुःखान्त नभई मानव इतिहासकै अँध्यारो दिन भएको बताउनुभयो ।

डा.ढुंगेलले अझै पनि यहुदी समुदायले मानसिक रुपमा होलोकस्टको त्रास झेलिरहेको जिकिर गर्दै यस्तो बर्बरता फेरि नदोहरियोस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो।

जर्मनी दूताबासका राजदूत डा.थोमस हेनरिक प्रिन्जको तर्फबाट मिसन उपप्रमुख बेन्जामिन सिडेलले होलोकस्ट ग्यास चेम्बरबाट शुरु भएको नभइ यो घृणा, विभाजन, र अमानवीय शब्दहरूबाट सुरु भएको भन्दै यसले लोकतान्त्रिक नागरिकका रूपमा सबै प्रकारका भेदभावको विरोधमा दृढ रहने प्रेरणा दिलाएको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्पसनले जातीय विभेद, मानवताविरोधी गतिविधि, जातिवाद, र सबै प्रकारका असहिष्णुताको विरोधमा सामूहिक जिम्मेवारीका साथ उभिनुपर्ने बताउनुभयो।

उहाँले अमेरिकी विदेश सचिव मार्को रुबियोको तर्फबाट शुभकामना व्यक्त गर्दै भन्नुभयो, “म विश्वस्त छु कि हामी यस प्रकारको विनाशलाई सम्झने र सम्मान गर्ने काममा निरन्तर साझेदार हुनेछौं।”

 

त्यसैगरी इजरायली राजदूत श्मुलिक ए. बासले यहुदी समुदायमाथि भएको बर्बरता र मानवीय त्रासदी विश्वकै लागि सधैं चेतावनीको रुपमा रहेको जिकिर गर्दै अन्तर्राष्ट्रिय होलोकस्ट दिवसले यस्ता पीडादायी घटना दोहरिन नदिन सबैलाई सचेत गराउने बताउनुभयो।

उहाँले थप्नुभयो, “२७ जनवरी २००५ मा संयुक्त राष्ट्र संघले पहिलोपटक होलोकस्ट स्मरण गर्न विशेष सभाको आयोजना गरेको थियो। आउश्विट्जको मुक्ति भएको ६०औं वर्षगाँठमा यो कदम चालिएको थियो। त्यस वर्ष संयुक्त राष्ट्रसंघ भवनमा याद भास्हेम म्युजियमको प्रदर्शनी राखिएको थियो र आशाको गान ‘हातिक्भा’ प्रस्तुत गरिएको थियो। यो प्रयास पछि महासभा प्रस्ताव ६०/७ लाई स्वीकृति दिँदै होलोकस्ट स्मृति विभाग स्थापना गर्दै जनवरी २७ लाई अन्तर्राष्ट्रिय होलोकास्ट स्मरण दिवसका रूपमा घोषणा गरियो।”

कार्यक्रममा हिमाली बोर्डिङ स्कुल र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीहरुको सामुहिक सांगितिक प्रस्तुतीरहेको थियो ।

उक्त कार्यक्रममा मानव निर्मित क्रूरताबारे जानकारी दिँदै यस्तो बर्बरता फेरि कहिल्यै नदोहरियोस् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आउस्विट्ज(अ प्लेस अन अर्थ शीर्षकमा फोटो प्रदर्शनी गरिएको थियो । उक्त फोटो प्रदर्शनी सर्वसाधारणका लागि आगामी जनवरी २८ देखि फेब्रुअरी २ सम्म हिमाली बोर्डिङ स्कुल र फेब्रुअरी ३ देखि ९ सम्म काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा राखिने छ ।

यो स्मृति दिवस  न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । अन्य स्थानहरूमा पनि प्रदर्शनी खुला गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“कहिल्यै नबिर्स, फेरि कहिल्यै नहोस्” भन्ने विश्वव्यापी प्रतिज्ञाको महत्त्वलाई उक्त स्मृति सभामार्फत ऐक्यबद्धताजनाइएको छ ।

तस्वीरः इजरायली राजदूतावास, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *