ह्याकिङ र ट्रोलिङमा कडाइ: सरकारको नयाँ विधेयक संसदमा

काठमाडौं । सरकारले कसैको सामाजिक सञ्जाल तथा कम्प्युटर प्रणाली ह्याक गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने गरी विधेयक संसदमा पेस गरेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ह्याकिङलाई गम्भीर अपराधका रूपमा लिँदै तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

विधेयकअनुसार कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड, सिरियल नम्बर क्रयाक गरी अनधिकृत रूपमा पहुँच प्राप्त गर्नु वा तथ्यांकमा हस्तक्षेप गर्नु ह्याकिङ मानिनेछ ।

हेट स्पीच र ट्रोलिङ गर्नेहरूलाई पनि कारबाही

विधेयकले सामाजिक सञ्जालमा अरूको मान प्रतिष्ठामा आँच आउने, होच्याउने नियतले गरिने पोस्ट, ट्रोल, गाली बेइज्जती तथा घृणास्पद (हेट स्पीच) सामग्री प्रवाह गर्नेहरूमाथि पनि कारबाहीको व्यवस्था गरेको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ ।

तर, कारबाही अघि प्रयोगकर्तालाई सफाइ दिन मौका दिने व्यवस्था विधेयकमा गरिएको छ ।

विधेयक संसदमा छलफलका लागि पेस भइसकेको छ र अब संसदीय प्रक्रिया पूरा गरी कानुनको रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *