हमास–इसराइल युद्धविराम भएपछि विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर । हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।

हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उहाँको परिवारमा छ ।

मलिन अनुहारमा विपिनका आमा पदमाले भन्नुभयो, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।’ उहाँले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताउनुभयो ।

‘युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,’ आमा पदमाले भन्नुभयो, ‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इसराइलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।

इसराइल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन ।

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘अहिले हमास–इसराइल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौं । उहाँले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *