म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।
राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ, उहाँले भन्नुभयो, स्थानीय तहमार्फत तथ्याङ्कलाई पुष्ट्याइ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।
केन्द्रिय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।
राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलब एक प्रतिशतले बिजुली, तीन दशमलब चार प्रतिशतले सोलार, शून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलब चार प्रतिशतले बायोग्यास र शून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् ।
जनगणनाका क्रममा कुनै पनि विद्युत्को सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरूकोष र छहरीका एक सय २० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । तीमध्य अधिकांश बस्तीहरूमा अहिले केन्द्रिय प्रशारणलाइनको विद्युत् पुगिसकेको छ ।
गण्डकी प्रदेश सरकार स्थापना भएदेखिनै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केन्द्रिय लाइन नपुगेको र पुग्न नसक्ने ठाउँमा लघुजलविद्युत् परियोजना निर्माण, मर्मत सम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेकका बस्तीमा चालु आर्थिक वर्षमा केन्द्रिय प्रशारण लाइनको विद्युत् सुविधा पुग्ने नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लद्युजलविद्युत् परियोजनाको सुविधा छ ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तरर्गत २३ हजार विद्युत्का ग्राहाक छन् । आर्थिक वर्ष २०८०र८१ मा एक हजार चार सय, २०७९र८० मा हजार दुई सय ३८ र २०७८र७९ मा सात सय ७० घरमा केन्द्रिय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
यसवर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगङ्गाको कुइनेमङ्गले क्षेत्रका करिब छ सय घरमा केन्द्रिय लाइनको विद्युत् विस्तारको काम अन्तिमचरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुरीमा केन्द्रिय लाइन विस्तारका लागि विसं २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत रु २० करोड बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ ।
