काठमाडौं । नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ ।
एकातर्फ केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्नुपर्ने र अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता खोल्नुपर्ने अवस्थामा वैकल्पिक व्यवस्था गरिएको विभिन्न ब्याङ्कका अधिकारीहरूले बताए ।
सबै नागरिकहरूले राष्ट्रिय परिचयपत्र नलिएको अवस्थामा गरिएको यो व्यवस्थाले वित्तीय सेवा प्रवाहमा “थप झन्झट थपेको” भन्दै कतिपयले यसको आलोचना गरेका छन् ।
गत जेठमा सरकारले निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।
विभिन्न २८ जिल्लामा उक्त निर्णय साउन १ गतेदेखि लागु गर्नेगरी सरकारले गत असार १० गते राजपत्रमा सूचना पनि प्रकाशित गरेको थियो ।
व्यापक आलोचना खेपेको उक्त सरकारी निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेपछि अदालतले गत भदौ ७ गते अन्तरिम आदेश दिँदै “तत्कालका लागि” त्यसलाई लागु गर्न बन्देज लगाइदिएको थियो ।
अदालतले रिट निवेदनहरूको अन्तिम टुङ्गो नलाग्दासम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएपछि सरकारले पनि “हाललाई निर्णय कार्यान्वयन नगर्ने” नीति लिएको थियो । तर त्यसले राष्ट्रिय परिचयपत्र वितरणमा अन्योल उत्पन्न भएको भन्दै सरकारले ‘भ्याकेट’ को विकल्प रोज्यो ।
गत कात्तिकमा सरकार भ्याकेटमा गएपछि सुरूमा नियमित इजलासमा बहस भएकोमा न्यायाधीशहरूले उक्त मामिलामा “गम्भीर संवैधानिक व्याख्या”को आवश्यकता औँल्याउँदै पूर्ण इजलासमा पठाउने निर्णय गरेका थिए ।
गत पुस २५ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासमा बहस सकिएर पुस २९ गतेका लागि निर्णय सुनाउने मिति तोकिएको थियो ।
तर उक्त दिनबाट पनि निर्णय सुनाउने मिति यही माघ ६ गतेलाई सरको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित चार वटा मुद्दालाई सर्वोच्च अदालतले सबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।
तर गत असार १० गतेको राजपत्रमा प्रकाशित सूचनालाई नै आधार मान्दै राष्ट्र ब्याङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका ब्याङ्कका निम्ति गत पुस २५ गते एउटा एकीकृत निर्देशन जारी गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
सबै खातावाललाई अनिवार्य गरिएको हो?
राष्ट्र ब्याङ्कले जारी गरेको निर्देशनअनुसार अहिले नै ब्याङ्क तथा वित्तीय संस्थाका सबै खातावालका लगि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन ।
तर माघ १ गतेपछि नयाँ खाता खोल्ने जोसुकैका निम्ति राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।
राष्ट्र ब्याङ्कको निर्देशनमा भनिएको छ, “ब्याङ्क तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ ।”
गत असार १० गते प्रकाशित राजपत्रको सूचनामा माघ १ गतेदेखि नेपालभरि “ब्याङ्किङ तथा वित्तीय सेवासम्बन्धी” काम गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरिएको थियो ।
अधिकारीहरूले दिएको जानकारीअनुसार अब कुनै पनि एउटा ब्याङ्क वा वित्तीय संस्थामा खाता रहेको व्यक्तिले अर्को ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ ।
बीबीसी
