एजेन्सी । इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । १५ महिनादेखि गाजामा जारी युद्ध अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ । सम्झौताको औपचारिक घोषणा भने गरिएको छैन ।
सम्झौता आइतबारदेखि लागू हुने समाचारमा उल्लेख छ । गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् । त्यसपछि इजरायलले जवाफी कारबाही सुरू गरेको थियो ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । इजरायलले ६० जना मात्र जीवित रहेको विश्वास गर्छ । नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन् ।
सम्झौताले लाखौं विस्थापितलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूलाई रिहाइ गरिने छ ।
सम्झौताअनुसार पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।
स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।
हमासका मुख्य वार्ताकार खलील अल हयाले भन्नुभयो, युद्धको क्रममा गाजामा भएको पीडाका लागि समूहले इजरायललाई माफ गर्ने छैन । सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसु हामी बिर्सने छैनौं ।
उहाँले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताउनुभयो ।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उहाँको वार्ता टोलीले यो सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने बताउनुभएको छ ।
उहाँले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गर्नुभयो । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौता अनुमोदन गर्नुपर्छ ।
१५ महिनापछि ठूलो सफलता
१५ महिनादेखि जारी युद्धपछि दुवै पक्षबीच भएको सहमतिलाई ठूलो सफलता मानिएको छ । तर, दुई पक्षबीच भएको सहमतिको विवरण अहिले आदान प्रदान गरिएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझै पनि धेरै पक्षहरू आफूले हेरिरहेको बताउनुभएको छ ।
सम्झौताअन्तर्गत इजरायलले करिब एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्भावना छ । तिनीहरूमध्ये केही धेरै वर्षदेखि इजरायली जेलमा छन् ।
तीन चरणमा अघि बढ्ने
सहमतिको घोषणापछि यो युद्धविराम तीन चरणमा अघि बढ्नेछ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले यो सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेमा आइतबारदेखि लागू हुने बताउनुभएको छ ।
सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताउनुभएको छ ।
बाइडेनले सम्झौताअन्तर्गत हमासले बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताउनुभयो ।
तर बाइडेनले हमासले कति जना बन्दी रिहा गर्न लागेका छन् भन्ने बताउनुभएन । तर कतारका प्रधानमन्त्री अल थानीले बुधबार साँझ पत्रकार सम्मेलनमा यो संख्या ३३ हुने बताउनुभयो ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले यसअघि रिहा हुने सम्भावना रहेका ३३ बन्धकमध्ये बालबालिका पनि रहेको बताउनुभएको थियो ।
एक प्यालेस्टिनी अधिकारीले तीन जना बन्धकहरूलाई तुरून्तै रिहा गरिने र बाँकी प्यालेस्टिनी कैदीहरूसँग आदानप्रदान आगामी छ हप्तामा हुनेछ ।
इजरायली सेना गाजाका सबै जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ । साथै, प्यालेस्टिनीहरू पनि गाजाका सबै क्षेत्रहरूमा आफ्नो घर फर्कन सक्षम हुनेछन् ।
इजरायली आक्रमणका कारण गाजाका करिब २३ लाख मानिस घरबारविहीन भएका छन् । युद्धविरामपछि यी मानिसहरू आफ्नो घर फर्कन सक्नेछन् ।
यसबाहेक गाजामा मानवीय सहायता पनि बढ्नेछ र त्यहाँ दैनिक सयौं ट्रकहरू पुग्न अनुमति दिइनेछ ।
युद्धविरामको १६औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता सुरू हुने प्यालेस्टिनी अधिकारीले बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतिले दोस्रो र तेस्रो चरणको वार्ता जारी रहेसम्म युद्धविराम जारी रहने बताउनुभयो ।
बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ । यस चरणमा बाँचेका बाँकी बन्धकहरू र तिनीहरूको ठाउँमा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ ।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण समावेश हुनेछ । यो धेरै वर्ष लाग्न सक्छ । यस चरणमा हमासको हिरासतमा मारिएका बन्धकहरूको शव पनि इजरायललाई हस्तान्तरण गरिनेछ ।
अझै आशंका
सहमतिपछि यो पनि स्पष्ट छैन कि इजरायल एक निश्चित मितिमा बफर जोनबाट बाहिर निस्कन सहमत हुनेछ वा बफर जोनमा यसको उपस्थिति अनिश्चित कालसम्म जारी रहनेछ । विगतमा छिटपुट झडपपछि इजरायल र हमासबीचको युद्धविराम तोडिएको थियो ।
यो युद्धविरामको समयतालिका र यसको जटिलताले सानो घटनाले पनि फेरि युद्ध सुरू हुन सक्छ ।
अमेरिका र कतारले सम्झौताको घोषणा गरिसकेका छन् तर इजरायलको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ । बिहीबार बिहान मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्ने भएको छ ।
सम्झौताको दोस्रो चरणमा जानेबारे सोधिएको प्रश्नमा कतारका प्रधानमन्त्री अल थानीले आफूलाई यसमा पूर्ण विश्वास रहेको तर सबै कुरा दुवै पक्षमा भर पर्ने बताउनुभयो ।
गाजामा कसले शासन गर्ने ?
युद्धविराम पछि गाजामा कसले शासन गर्ने भन्ने सबैभन्दा ठूलो अनुत्तरित प्रश्न हो ।
बुधवार सम्झौताको घोषणा हुनुअघि प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाले प्यालेस्टाइनी प्राधिकरणलाई गाजामा कानून अनुसार शासन गर्ने अधिकार रहेको बताउनुभएको थियो ।
इजरायलले हमासलाई गाजामा शासन गरोस् भन्ने चाहँदैन ।
तर इजरायल पनि प्यालेस्टाइनी अथोरिटीले गाजामा शासन गरोस् भन्ने चाहँदैन । यो अख्तियारले इजरायलले कब्जा गरेको वेस्ट बैंकका केही भागहरू नियन्त्रण गर्दछ । र इजरायल पनि द्वन्द्व समाप्त भएपछि पनि गाजामा सैन्य नियन्त्रण हुनुपर्छ भन्ने चाहन्छ ।
इजरायलले गाजालाई चलाउन अस्थायी प्रशासनको योजनाका लागि अमेरिका र कतारसँग छलफल गरिरहेको छ । यो नयाँ संरचनाले गाजामा स्थायी सरकारको रूप लिन सक्छ ।
एजेन्सी
