काठमाडौं । भारतीय बलिउड अभिनेता सैफअली खानमाथि छुरा प्रहार भएको छ ।
गएराति साढे २ बजे बान्द्राको घरमै कलाकार खानमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उहाँ घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।
उहाँ परिवारसहित सुतिरहेको समयमा एक व्यक्ति घरमा प्रवेश गरेका थिए । घरमा रहेका सहयोगीसँग झगडा परेपछि सैफ बचाउन जानुभएको थियो ।
त्यसक्रममा ती व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेर भागेका थिए ।
सैफको हातमा शरीरमा विभिन्न ६ ठाउँमा चोट लागेको बताइएको छ । लिलावती अस्पतालका एक डाक्टरले सैफको हात, मेरूदण्ड र घाँटीमा समेत चोट रहेको बताएको छ ।
घरमा रहेका परिवारका अन्य सदस्यहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
