संविधान संशोधन सबै पक्षसँग छलफल गरेर मात्रै : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

मंगलबार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले ठुलो दुई पार्टीबिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले अन्यथा लिन नहुने बताउनुभयो ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौँ। अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमति भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यही सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबिच सहमति भएको छ । यो दुई पार्टीबिचको सहमति कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरू सबै पार्टीहरूलाई समेट्दै लैजाने हो ।’

उहाँले भन्नुभयो, ‘नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढन खोजिराखेका छौँ । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाइहरूले आशङ्का गरिरहनुपर्ने आवश्यकता छैन । ओलीजी पनि प्रजातन्त्रको मूलभूत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बिचमा सहमति भएको छ । त्यो सोची विचारकन भएको सहमति हो । दुई वटा पार्टी मिले भइहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलब अरू कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरूलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरूलाई साथसाथै लिएर जाने हो ।’’

लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *