काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका विषयमा आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ । पार्टीले सार्वजनिक विज्ञप्ति जारी गर्दै सुनारलाई छानबिन निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक भएका श्रव्य सामग्री र त्यसमा उठाइएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर र संवेदनशील रहेको पार्टीको भनाइ छ ।
विज्ञप्तिअनुसार, उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । छानबिन प्रक्रिया प्रभावित नहोस् र पार्टीको नीतिगत मर्यादा कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई सार्वजनिक पदको हैसियतमा हुने औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको हो ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ । साथै, राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
पार्टीले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गर्दै अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने जनाएको छ ।

