काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई शनिबार साँझ उनकै गृहजिल्ला सर्लाहीको मलंगवामा कालो झण्डा देखाइएको छ ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहको पुत्लासमेत दहन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले चारजना युवाहरूलाई पक्राउ गरेको छ । विरोधका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले जानकारी दिनुभयाे ।
पूर्व-पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा झापाबाट सर्लाही पुगेका सिंहलाई मलंगवा पुगेका युवाहरू विरोधमा उत्रिएका हुन् । हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको जनाउँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले मलंगवास्थित जिल्ला विकास चोकको बाबा स्वामी मठनजिक पुत्ला जलाए । कालो झण्डा देखाउने क्रममा प्रहरीले आफ्ना चारजना कार्यकर्तालाई पक्राउ गरेको यादवले बताउनुभयाे । पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै सेनाका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
पदयात्राका क्रममा गृहजिल्ला सर्लाही पुगेका सिंह शनिबार राति सदरमुकाम मलंगवामै बसेका छन् । रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले सिंहको पदयात्रा आइतबार बिहान साढे ७ बजेपछि अघि बढ्ने बताउनुभयाे ।
