स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन सक्दैन: वरिष्ठ अधिवक्ता ज्ञवाली

काठमाडौं। वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीले संविधान संशोधन नगरी स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन नसक्ने बताउनुभएकाे छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह र प्रदेश सभाको निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ ।

स्थानीय तहको निर्वाचनबारे उल्लेख गर्दै ज्ञवालीले नेपालको संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पार्नुभएकाे छ ।

उक्त संवैधानिक व्यवस्थाले कार्यकाल सकिनुअघि नै निर्वाचन (अर्ली वा प्रि–इलेक्सन) गर्ने परिकल्पना नगरेको, बरू कार्यकाल सकिएको ६ महिनाभित्र (पोस्ट–इलेक्सन) निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता सिर्जना गरेको उहाँको भनाइ छ ।

ज्ञवालीले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन हुने कानुनी व्यवस्था रहेकाले यसमा संवैधानिक प्रश्न उठ्ने औँल्याउनुभएकाे छ ।

ऐनको सोही व्यवस्थालाई आधार मानेर कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गर्ने निर्णय गरिए वा निर्वाचन सम्पन्न भए त्यसले संवैधानिक वैधता प्राप्त गर्न नसक्ने उहाँले जिकिर गर्नुभएकाे छ । “यस्तो कानुन र निर्णय स्वतः संविधानसँग बाझिन्छ र संवैधानिक इजलासबाट बाझिएको हदसम्म बदर हुन्छ,” उहाँले भन्रुभएकाे छ ।

गत स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न भएकाले संवैधानिक दृष्टिकोणबाट आगामी निर्वाचन २०८४ साल वैशाख ३० गतेदेखि ६ महिनाभित्र अर्थात् कात्तिक ३० गतेभित्र सम्पन्न गर्नैपर्ने बाध्यता रहेको ज्ञवालीको भनाई छ । यसैगरी, प्रदेश सभाको हकमा संविधानको धारा १७७ बमोजिम अगावै विघटन भएमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभएकाे छ ।

२०७९ साल मंसिर ४ गते प्रदेश सभाको निर्वाचन सम्पन्न भएकाले ती सभाहरूको कार्यकाल २०८४ मंसिर ४ गतेसम्म रहने र सोही मितिमा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *