काभ्रे । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरूद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयाे ।
डिभिजन सडक कार्यालय, भक्तपुरको टोली साेमरबार बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ । मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयाे । अहिलेको यो अवरोधले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ । २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
देशको पूर्वी तथा मध्यक्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो ।
यसले राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । त्यसैले राजमार्गमा हुने अवरोधको प्रत्यक्ष असर यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा पर्ने गरेको छ ।
विसं २०८१ को बाढीपछि सडक बगेका स्थानमा बनाइएका अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिए पनि यात्रा सहज हुन सकेको छैन । वर्षायाममा हिलो र घाम लाग्दा धुलो हुने डाइभर्सनमा सवारी चलाउन कठिन हुने गरेको चालकहरू बताउँछन् ।
बिपी रामार्गमा नियमित सवारीसाधन चलाउँदै आएका चालक विनोद दाहालका अनुसार डाइभर्सनको अवस्थाका कारण दैनिक सास्ती भोग्नुपरेको छ । “सडक बगेको ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा हिलो र धुलोको सास्ती त छँदैछ, बाटोको बेहाल अवस्थाका कारण साना गाडीले जताततै भुइँ छुन्छन् । गाडी त बिग्रन्छ नै, यात्रुको ज्यानको जोखिम मोलेर यात्रा गराउनुपरेको छ”, उहाँले भन्रुभयाे ।
राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाको समस्या पनि उस्तै छ । रोशी गाउँपालिका–११ कालढुङ्गाका स्थानीय बुद्ध लामाका अनुसार बाढीले बस्ती र सडक दुवैमा ठुलो क्षति पुर्याएको थियो । “हाम्रो घरआँगन भएर जाने यो सडक नै हाम्रो जीवनको मुख्य आर्थिक आधार थियो । तर बाढीले बस्ती र सडक दुवै तहसनहस बनायो । अहिले अस्थायी डाइभर्सनबाट जसरी तसरी यातायात चले पनि धुलो, हिलो र फेरि पानी पर्दा आउने बाढीको त्रास कायमै छ”, उहाँले भन्रुभयाे । उहाँले यस क्षेत्रको स्थायी समाधानका लागि छिटो र बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयाे ।
स्थानीय सरकारको तर्फबाट पनि पुनर्निर्माणलाई तात्कालिक मर्मतमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित बनाउनुपर्ने माग उठाइएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर आगामी दिनमा जोखिम कम हुने गरी संरचना बनाउनुपर्ने बताउनुभयाे ।
“बिपी राजमार्ग पुनर्निर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक छ । राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बलियो संरचना बनाउनै पर्छ । दुई वर्षमा सडक पुनर्निर्माण गरिसक्ने दाबी गरेको सरकारले हाम्रा सुझावहरूलाई राम्ररी मनन गरी प्राविधिक अध्ययनका साथ काम अघि बढाओस् भन्ने स्थानीयको अपेक्षा छ”, उहाँले भन्रुभयाे ।
उहाँले कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्याक नै परिवर्तन गरेर सुरक्षित भूभागबाट लैजानुपर्ने विकल्पसमेत अघि सारेका छन् । नागरिकको सास्ती र स्थानीय तहको चासोबीच सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशका अनुसार बर्खेखोलादेखि भकुन्डेबेँसीसम्मको २५.११ किलोमिटर सडक खण्डमा विभिन्न चार प्याकेजमा निर्माण भइरहेको छ ।
प्याकेज–१ अन्तर्गत बर्खेखोला–पिप्ले ३.२२ किलोमिटर सडक खण्ड जाइका अनुदान सहयोगमा निर्माण भइरहेको छ । यसका लागि जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ । कन्सल्टेन्टका रूपमा निप्पोन कोइ को लिमिटेड तथा याहियो इन्जिनियरिङ कर्पोरेसन जेभी रहेको छ ।
उक्त खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्याकेज–२ अन्तर्गत पिप्ले–डालाबेसी २.३० किलोमिटर सडक खण्ड निर्माणका लागि उमा एन्ड कम्पनी/भण्डारी अमर ज्योति जेभीसँग ठेक्का सम्झौता भएको छ । लागत अनुमान रु एक अर्ब २१ करोड रहेकामा रु ६८ करोड ८० लाख ४० हजारमा सम्झौता भएको उक्त खण्डमा हाल सम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
प्याकेज–३ अन्तर्गत डालाबेसी–चारसयबेसी ८.५० किलोमिटर सडक खण्डको निर्माण खानी/ए वान/कमल जित जेभी काठमाडौंले गरिरहेको छ । लागत अनुमान रु दुई अर्ब ४५ करोड रहेकामा रु एक अर्ब ४२ करोडमा सम्झौता भएको उक्त खण्डमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ ।
यस्तै प्याकेज–४ अन्तर्गत चारसयबेसी–भकुन्डेबेसी ११.०९ किलोमिटर सडक खण्डको निर्माण लामा/नव कान्तिपुर जेभी काठमाडौंले गरिरहेको छ । लागत अनुमान रु दुई अर्ब ५२ करोड रहेकामा रु एक अर्ब ३३ करोडमा सम्झौता भएको उक्त खण्डमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको डिभिजन प्रमुख योगेशले जानकारी दिनुभयाे ।
सडकलाई बाढी तथा पहिरोबाट सुरक्षित बनाउन विभिन्न प्राविधिक संरचनाको निर्माणलाई समेत प्राथमिकता दिइएको छ । डिभिजन प्रमुख योगेशका अनुसार उच्च जोखिम रहेका क्षेत्रमा आरसीसी क्यान्टिलिभर वाल निर्माण भइरहेको छ ।
कूल ६ हजार ३०० मिटर लम्बाइको उक्त संरचनामध्ये हालसम्म तीन हजार ७६० मिटर सम्पन्न भएको छ । माइक्रोपाइलतर्फ एक हजार १४५ मिटरको काम शतप्रतिशत सम्पन्न भएको छ । प्लम कङ्क्रिटतर्फ पाँच हजार ७४० मिटरमध्ये दुई हजार १८९ मिटर अर्थात् ३८ प्रतिशत र स्टोन मसनरीतर्फ पाँच हजार ९०० मिटरमध्ये चार हजार १०५ मिटर अर्थात् ७० प्रतिशत काम सम्पन्न भएको छ ।
वर्षायाममा यातायात अवरूद्ध हुन नदिन जोखिमयुक्त स्थानमा न्यूनतम ४.५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेल स्तरको सडक तयार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्भावित आकस्मिक अवरोध तथा पहिरो तत्काल पन्छाउन चौकीडाँडा, कटुन्जेबेसी, चारसयबेसी, गिम्तिबेसी–नार्के, चिउरीबास–बोक्सिकुना, कालढुङ्गा, डालाबेसी र सुक्खा पहिरोलगायतका स्थानमा १३ एक्स्काभेटर, छ लोडर र ११ टिपर तयारी अवस्थामा राखिएको छ ।
स्थायी पुनर्निर्माण अघि बढिरहँदा अस्थायी डाइभर्सनमा भने बाढीको जोखिम कायमै छ । २०८२ असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनमा पुनः क्षति पुर्याएको थियो । चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएका डाइभर्सनमा सडक डिभिजन कार्यालय भक्तपुरले करिब रु १० करोड खर्च गरेको थियो तर, रोशी खोलाको बाढीले ती डाइभर्सनका विभिन्न भाग बगाएपछि राजमार्ग पुनः प्रभावित भएको थियो ।
यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सनमा कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेसी, वडा नं ८ गिम्दीबेसी र वडा नं ११ माम्तीमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ ।
चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको छ । अहिले खुर्कोट–भकुण्डेबेँसी खण्ड बन्द हुनु पनि यही वर्षात्, पहिरो तथा नदी कटानबाट सिर्जित अवरोधकै परिणाम हो ।
बिपी राजमार्गको पुनर्निर्माणमा तत्काल सडक सञ्चालनमा राख्नु र दीर्घकालीन रूपमा सुरक्षित बनाउनु दुवै चुनौती छन् । बाढीले भत्काएको सडक पुरानै अवस्थामा फर्काउने मात्र नभई भविष्यमा हुने विपद्को जोखिमसमेत घटाउने गरी संरचना निर्माण गर्नुपर्ने अवस्था छ । २०८१ सालको बाढीले सडकमा ठूलो क्षति पुर्यायो, २०८२ सालको बाढीले अस्थायी डाइभर्सनको सीमितता देखायो र २०८३ सालको वर्षाले पुनः डाइभर्सन कटान तथा पहिरोको समस्या दोहोर्याएको छ तर यहीबिच स्थायी पुनर्निर्माणका विभिन्न प्याकेजमा काम अघि बढिरहेको छ ।
एकातर्फ पुनर्निर्माणका संरचना थपिँदै छन् भने अर्कोतर्फ वर्षा, बाढी र पहिरोले अस्थायी संरचनाको कमजोरी देखाइरहेको छ । यात्रु हिलो र धुलोको सास्ती खेपिरहेका छन्, चालक जोखिमबीच सवारी चलाइरहेका छन् र स्थानीय सुरक्षित सडकको प्रतीक्षामा छन् ।
अबको आवश्यकता निर्माणाधीन संरचना समयमै सम्पन्न गर्नुका साथै जोखिमयुक्त स्थानमा दीर्घकालीन समाधान खोज्नु हो । नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाए मात्र बिपी राजमार्गको पुनर्निर्माणले अपेक्षित सार्थकता पाउनेछ ।
